गायक सीताराम पोखरेल मञ्चमा उक्लिनासाथ युवायुवतीहरूको गडगडाहट ताली बज्यो। कालो चस्मा, हल्का जुंगा-दाह्री अनि स्लिम शरीर, युवतीहरूको जोस नै बेग्लै। यही जोसमा पोखरेलले गीत गाइहाले त्यसपछि गायिका कोमल ओली पनि सीतारामको हात समाएर नाच्न थालिन्। त्यसपछि दर्शकहरूको हुटिङ थप बढ्यो। दुवै जना लामो समय हात समाएर मञ्चमा नाँच्दा दर्शकहरू पनि नाचे। रिमझिम पानी परिरहेको थियो, मौसम प्रतिकूल बन्दै थियो। तैपनि हिलाम्मे जमिनमा छाता ओढेर उभिइरहेका दर्शकहरू पानीको बेवास्ता गरिरहेका थिए।
घोराहीमा सञ्चालित पर्यटन महोत्सव तथा कृषि मेलामा सीताराम र कोमलको नाचगानले बेग्लै रौनक दियो। मेलामा कोमलको गीतमा बूढाबूढीदेखि बालबालिकासम्म नाचेका थिए। ओली गाउँदै गएपछि प्रशंसकहरूले तस्बिर खिचाउन तँछाडमछाड पनि गरेका थिए।
महोत्सवमा जीवन शर्मा, शिशिर योगी, रामजी खाँड, हेमन्त शर्मा, पशुपति शर्माजस्ता गायकहरूको प्रस्तुतिले पनि आकर्षण बढाएको थियो। गीतसंगीतको रमाइलोमा दर्शकहरूको भीड बढेपछि केही दिन टिकट नै बन्द गर्नुपरेको थियो। माघ २८ देखि फागुन ८ सम्म चल्ने भनिएको महोत्सव माग बढेपछि १० गतेसम्म सञ्चालन भयो।











